टुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको पार्किङ शुल्क १ करोड ७१ लाख







वैशाख १९, २०७३-  
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा १४ महिनाअघि दुर्घटनाग्रस्त टर्किस एयरलायन्सको पार्किङ शुल्क शनिबारसम्म १ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यो रकम छानबिन आयोग पछिको पार्किङ शुल्क बापतको मात्रै हो । अन्य सक्षम जहाजको पार्किङ शुल्कको तुलनामा टर्किसले प्रतिदिन २५ प्रतिशत मात्रै तिर्ने नियमअनुसार निर्णय भएको त्रिभुवन विमानस्थलका प्रवक्ता भोला गुरागाईले बताए ।

टर्किसले अब २६ अर्ब मूल्यको आफ्नो एयरबस विमानलाई मर्मत नगर्ने पक्कापक्की गरेको छ । अघिल्लो वर्षको फागुन २० मा अवतरणका क्रममा दुर्घटनामा परेको उक्त विमानलाई नउडाउने भएपछि काम लाग्ने पाटपुर्जा इस्तानबुल नै लैजाने निर्णय एयरलाइन्सले गरेको छ । प्रवक्ता गुरागाईका अनुसार एक वर्षदेखि पार्किङ शुल्क विवाद झेलिरहेको टर्किसले अन्तत: डिसेवल (अयोग्य) जहाजसरह पार्किङ शुल्क तिर्ने भएपछि यो विषयको खुलासा भएको हो । ‘टर्किसले प्रतिदिनको २५ प्रतिशत मात्रै तिर्ने निर्णय भएको छ,’ उनले भने ।

दुर्घटनापछि विमानस्थलले गत वैशाखमा टर्किस एयरको काठमाडौं कार्यालयलाई दैनिक २ लाख रुपैयाँ हाराहारीका दरले पार्किङ शुल्क तिर्नुपर्ने बिल थमाएपछि यी दुईबीच विवाद सुरु भएको थियो । विमानस्थलको राजस्व शाखाले त्यसताका टर्किसलाई थमाएको बिलमा दैनिक पार्किङ शुल्क १८ सय ४० अमेरिकी डलर र थप १३ प्रतिशत भ्याट पनि तिर्न भनिएको थियो । चर्को पार्किङ शुल्कको विवादका कारण टर्किसले जहाज बनाउने वा बिमा कम्पनीबाट बिमांक रकम लिई जहाज छाडिदिने विषयमा अन्योल थियो ।


टर्किसले उक्त जहाजको रजिस्ट्रेसन नम्बर खारेज भएको जनाउँदै डिसेवल एयरक्राफ्ट घोषणा गरेको जिकिर गर्दै पार्किङ शुल्कमा हेरफर हुनुपर्ने माग राख्दै यसबारे निर्णय गर्न नागरिक उड्डयन प्राधिकरणमा पनि पुगेको थियो । त्यहाँ पनि पार्किङ शुल्कको विवाद नमिलेपछि उसले पर्यटन मन्त्रालयको समेत ध्यानाकर्षण गराएको थियो । अन्तत: पार्किङ शुल्कको फाइल फेरि विमानस्थलमै फर्केर त्यहाँको व्यवस्थापनले विवाद टुंग्याइदिएपछि टर्किस र यो जहाजको बिमा गर्ने कम्पनीलाई अब बिग्रेको जहाज व्यवस्थानका लागि बाटो खुला भएको हो । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले आफू अघिका महाप्रबन्धकको पालामा गरिएको निर्णयलाई सच्याउँदै टर्किसलाई सक्षम जहाजलाई लाग्ने पार्किङ शुल्कको २५ प्रतिशत मात्रै तिर्नुपर्ने निर्णय गरेपछि टर्किसले पार्किङ शुल्क बुझाउने प्रक्रिया पनि थालेको हो ।



अब टर्किसले दैनिक ४ सय ६० डलर पार्किङ शुल्क र करिब ७० डलर १३ प्रतिशत भ्याटसहित कुल ५ सय २० डलर (५५ हजार हाराहारी) रुपैयाँ तिर्नुपर्ने छ । तर, जहाज दुर्घटना भएदेखि छानबिन आयोगको अध्ययनको अवधिमा चार महिना रहँदाको अवधिको पार्किङ शुल्क भने यसले तिर्ने छैन । चार महिनाको अवधिको शुल्क १५ लाख ४० हजार रुपैयाँ हाराहारी हुन्छ । ‘दुर्घटना छानबिनको अवधिको शुल्क टर्किसले तिर्नु पर्दैन । त्यो अवधिमा जहाज सरकारको नियन्त्रणमा हुन्छ । छानबिन आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टदेखि मात्रै टर्किसले पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ,’ विमानस्थलका एक अधिकारीले भने, ‘छानबिन आयोग पछिको पार्किङ शुल्क मात्रै शनिबारसम्मको १ करोड ७१ लाख हाराहारी पुगेको छ ।’


हाल उक्त जहाजलाई विमानस्थलको उत्तरतर्फ रहेको हेलिप्याडमा राखिएको छ । १ लाख किलोग्रामभन्दा बढी तौलको उक्त विमानले हेलिकप्टर पार्किङ क्षेत्रमा बाधा पुर्‍याएको बताउँदै आएपछि टर्किसले त्यही पछाडिको चौरमा करिब साढे ३ करोड रुपैयाँ खर्च गरेर हेलिप्याड पनि बनाइदिएको छ ।
४४ सय वर्गमिटरमा बनाइएको उक्त हेलिप्याड मंगलबार मात्रै टर्किस एयरको काठमाडौं कार्यालयले विमानस्थल महाप्रबन्धक उपाध्यायलाई हस्तान्तरण गरेको छ । उक्त हेलिप्याडमा ८ वटा ठूला हेलिकप्टर पार्किङ गर्ने क्षमता छ । टर्किसले उक्त हेलिप्याड सित्तैमा बनाइदिएको हो ।


अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिन पुगेको टर्किस एयरको विमानका कारण गत फागुनमा अन्तर्राष्ट्रिय विमानस्थल चार दिनसम्म अवरोध भएको थियो । टर्कीको राजधानी इस्तानबुलबाट २ सय २४ यात्रु बोकेर आएको एयरबस अघिल्लो फागुन २० गते बिहान पौने ८ बजे धावनमार्गको तेस्रो र चौथो ट्याक्सी–वेको बीच चौरमा अनियन्त्रित भई दुर्घटना हुँदा अन्तर्राष्ट्रिय सहर आउजाउ गर्ने करिब ४८ हजार यात्रु बिचल्लीमा परेका थिए ।
@onlinekhabar

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2