एमालेलाई प्रधानमन्त्रीको जवाफः मोदीलाई सामान्य पत्र पठाइएको हो


भदौ ९ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विशेष दूतमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र पठाएको स्वीकार गरेका छन् ।सरकारलाई सहयोग गर्न माओवादीले बनाएको संयन्त्रको बैठकमा प्रचण्डले पत्र पठाएको स्वीकार गरे । ‘एउटा प्रधानमन्त्रीले अर्को प्रधानमन्त्रीलाई पठाउने सामान्य पत्र मात्र हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै संयन्त्रका सदस्य तिलक परियारले भने ।

मोदीलाई पटठाइएको पत्रमा एमालेले भनेको जस्तो संविधान संशोधनबारे त्यसमा कुनै प्रतिवद्धता नरहेको प्रचण्डले बैठकमा बताए । पत्रबारे माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘सामान्य कूटनीतिक पत्रमात्र पठाएको हो, एमालेले भनेको जस्तो संविधान संशोधनबारे पत्रमा केही भनिएको छैन ।’

प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई पत्र पठाएकोमा आपत्ति जनाएको थियो । र, पत्र सार्वजनिक गर्न उसले माग गरेको थियो ।प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले हालै मात्र भारतको भ्रमण गरेका थिए । त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीलाई पनि भेटेका निधिले प्रधानमन्त्री प्रचण्डको पत्र हस्तान्तरण गरेका थिए ।

यसैवीच नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको सरकारलाई सहयोग गर्ने संयन्त्रको बैठकमा सरकार र मन्त्रीहरुको कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे सामान्य छलफल भएको छ । स्रोत: अनलाइन खबर

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2