आज गाईजात्रा पर्व मनाईदै


३ भदौ, काठमाडौं । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिइन्छ । यो पर्व काठमाडाँै उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्यमुख्य सहरमा मनाउने गरिन्छ ।
एक वर्ष अघिदेखि दिवङ्गत  आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रूपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन् ।
गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित भए पनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा छ ।
मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि “यस्तो शोक तिमीलाई मात्र परेको होइन” भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । यो देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने भनाइ छ ।
राजा मल्लले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । यो चलन चलाउँदा पनि रानी पूर्णरूपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने विश्वास छ ।
राजा मल्लकी रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट लैजान सुरु गरिएको काठमाडाँैका मानिसका गाईजात्रा अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै लैजाने चलन कायम रहेको वसन्तपुरका निवासी रामगोपाल श्रेष्ठले बताउनुभयो ।
आजको दिन कतिपय मानिसले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् । गाईजात्राकै अवसर पारेर पाटनमा भने सत्ययुगदेखि सङ्कलन गरिएको विश्वास गरिने धान र चामल सार्वजनिक प्रदर्शनमा राख्ने गरिन्छ ।
यस अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यात्मक विशेषाङ्क निकाल्छन् भने हास्यसमूहले हप्ता दिनभन्दा बढी गाईजात्रा कार्यक्रम चलाउँछन् ।
गाईजात्रा पर्व काठमाडाँै उपत्यकाका विभिन्न स्थानका अतिरिक्त काभेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवकोटको त्रिशूलीबजार, पाल्पा, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा मनाउने गरिन्छ ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2