३२ साउन, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमै पहिलोपटक हाइड्रो पावर इन्जिनियरिङको पढाइ सुरु गर्ने भएको छ ।
विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । स्नातक तहमा ४८ जनालाई अध्ययन गराउने व्यवस्था गरिएको छ ।
त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण गरिने छ भने ११ गते काठमाडौं तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयलका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले नेपालमा हाइड्रो पावरको प्रचुर सम्भावना रहेपनि सो विषयमा अहिलेसम्म अध्ययन हुन नसकेकाले पढाई सुरु गर्न लागिएको जनाए ।
त्यस्तै विश्विद्यालयका इन्जिनियरिङ संकायका डिन ई. अनन्तराज घिमिरेले चालु आर्थिक वर्षबाट हाइड्रो पावर इन्जिनियरिङको पढाई सुरु गरिएको भए पनि आगामी दिनमा त्यस विषयमा स्नातकोत्तरको समेत अध्यापन गराइने बताए ।
विज्ञ रामचन्द्र अर्यालले त्यस विषयको अध्ययनले प्राविधिक क्षेत्रमा सवल र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विसं २०६७ मा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयबाट मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षा र इन्जिनियरिङको पढाई भने हुँदै आएको छ ।


Post a Comment