१२ उद्योगले उत्पादन गरेको तेल खान अयोग्य


काठमाडौं: देशमा विभिन्न स्थानमा रहेका १२ वटा उद्योगले मानवस्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल उत्पादन गरेको पाइएको छ । मानव स्वास्थ्यलाई हानि पुर्‌याउने गरी दूषित खानेतेल उत्पादन गरेको अभियोगमा सरकारले ती उद्योगविरुद्ध गत आर्थिक वर्ष ३९ वटा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा कुल दुई सय ६ वटा मुद्दा दायर भएकोमा सबैभन्दा बढी खानेतेलसम्बन्धी छन् । विभिन्न प्रकारको मिसावट गरेर उत्पादन गरिएका यस्ता खानेतेलको उपभोग गर्दा मानवस्वास्थ्यमा जटिल प्रकारका रोग लाग्ने सम्भावना हुन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले यस्ता तेलको प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्‍बन्धी रोग लाग्न सक्ने जानकारी दिए । 'यस बाहेक तेलमा पाइने प्रतिकूल तत्वले अन्य विभिन्न प्रकारका घातक रोग लाग्न सहयोगी भूमिकासमेत खेल्ने गर्छ', महानिर्देशक कर्णले भने, 'निकै पुरानो तेलमा यस्ता समस्या देखिनेगर्छ ।'
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार गुणस्तरहीन खाने तेल उत्पादन गर्ने बारास्थित नन्दन घिउ एन्ड आयल इन्डस्ट्रिजविरुद्ध सबैभन्दा बढी मुद्दा दायर गरिएको छ । यो उद्योगविरुद्ध क्षेत्रीय कार्यालय हेटौंडाले २०७२ चैत २६ गते १६ वटा मुद्दा दायर गरेको थियो । यसैगरी सोही दिन वनस्पति घिउविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ । उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको हो ।
प्रवक्ता वस्तीका अनुसार महँगो तेलमा सस्तो तथा कम गुणस्तरको तेल मिसाएर, तोरीको तेलमा पामोलिन र भटमासको तेल मिसाएर र सनफ्लावर तेलमा भटमास र पामोलिन तेल मिसाएर बिक्री गर्ने गम्भीर प्रकृतिका समस्या देखिएका छन् । मापदण्डअनुसार तेलमा उपस्थित हुनु पर्ने तत्व पनि निकै कम र मापदण्ड विपरीत अत्यधिक परिमाणमा भेटिएका छन् ।
रिफाइन गरिएका तेलमा ०.५ भन्दा कम एसिडको भ्यालु हुनुपर्छ । यसैगरी पेरोअक्साइडको भ्यालु पनि १० मा हुनुपर्छ । 'तर एसिड र पेरोअक्साइडको भ्यालु कुनैमा निकै कम र कुनैमा अत्यधिक परिमाणमा भेटियो', वस्तीले भने, 'खानै नहुने अवस्थामा तेल भेटिएपछि मुद्दा दायर गरेका छौं ।' मुद्दा दायर गरिए पनि जुन ब्याचको अयोग्य मानिएको छ, ब्याचको उत्पादन बजारमा बिक्री हुन नदिन भने विभागले खासै चासो नदेखाएका कारण आमउपभोक्ता कमसल खानेतेल सेवन गर्न बाध्य छन् ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2