Loading...
(भिडियो हेर्नुहोस)
Loading...
मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले छुट दिनेबारे शुक्रबारसम्म निर्णय हुने बताए । ‘प्रारम्भिक छलफल भएको क्रममा असोज १ देखि छठ पर्वसम्म छुट पसल सञ्चालन गर्ने निर्णय भयो,’ प्रवक्ता रेग्मीले भने, ‘ग्यास सिलिन्डरमा पनि ५० रुपैयाँ छुट दिन सरोकारवालाहरूले माग राखेका छन् । यसबारे शुक्रबार अन्तिम निर्णय गर्छौं।’ व्यवसायी र खुद्रा पसलसम्म छुट गर्ने गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । डिर्पामेन्ट स्टोर र मार्टमा पनि छुट दिन अनुरोध गरिने रेग्मीले बताए । ‘खुद्रा व्यापारीबाट करिब ५ सय आउटलेटमार्फत छुट दिन अनुरोध गरेका छौं,’ रेग्मीले भने । उनका अनुसार सरकारसँग खाद्यान्नको भण्डारण पर्याप्त रहेकाले खाद्य वस्तुको अभाव हुँदैन । ‘साल्ट र खाद्यसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात छ,’ उनले भने, ‘दसैंलगायत चाडवाडमा खाद्यको अभाव हुन दिन्नौं ।’
सुपथ मूल्य पसलबाट बजार हस्तक्षेप र व्यवस्थापनमा धेरै सहज हुने मन्त्रालयको दाबी छ । यस्ता पसलबाट चाडपर्वमा चाहिने आवश्यक खाद्यान्न, खसीबोकालगायत बिक्री हुने छ । चाडवाडमा उपभोक्तालाई खाद्यान्नलगायत अत्यावश्यक वस्तुमा सहुलियत दिन सरकारले बर्सेनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।
सुपथ मूल्य पसलका लागि नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ, र खाद्य संस्थानले व्यवस्थापन गर्दै आएका छन् । साल्ट ट्रेडिङले नुन, चिनी, चामल, पिठो, मैदा, दाल, गेडागुडीको व्यवस्था मिलाउँछ । साल्टले प्रतिकिलो चिनीमा ५ रुपैयाँ छुट दिने छ । नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिइने छ । नेसनल ट्रेडिङले विद्युतीय सामान, मेसेनेरी पार्टपुर्जा उपलब्ध गराउँदै आएको छ । खाद्य संस्थानले चामल र गहुँ उपलब्ध गराउँछ । संस्थानले १५ थरीका चामल, फापर र सिमीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिने छ । उपत्यका बाहिरबाट करिब २ हजार ५ सय खसीबोका र च्यांग्रा ल्याई सहुलियत दरमा बिक्री गरिने प्रवक्ता रेग्मीले बताए । प्रवक्ता रेग्मीका अनुसार सहुलियत पसल उपत्यकाका विभिन्न ११ ठाउँमा सञ्चालन हुने छन् । सरकारले सञ्चालन गर्ने सहुलियत पसल उपत्यकामा मात्रै केन्द्रित हुँदा आलोचनासमेत हुन्छ । अघिल्लो वर्ष पनि संसदको उपभोक्ता समितिले उत्यकासँगै दुर्गम क्षेत्रमा पनि सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयका अनुसार यसपटक साल्ट ट्रेडिङले उपत्यका बाहिरका २४ जिल्लामा पनि सहुलियत पसल सञ्चालन गर्ने छ । सुपथ मूल्य पसलमा गेडागुडी, तरकारी, फलफूल चिउरालगायत आवश्यक खाद्य वस्तुमा सार्वजनिक संस्थानले मुनाफा घटाएर बिक्री वितरण गर्छ । उक्त पसलबाट उपभोक्ताले बजार भाउभन्दा केही प्रतिशत सस्तोमा सामान किन्न पाउँछन् ।
उपभोक्तालाई दिइएको छुट रकम अर्थ मन्त्रालयले उपलब्ध गराउँछ । तर, सार्वजनिक संस्थानहरूले भने क्षतिपूर्ति रकम प्राप्त गर्ने गरेका छैनन् । अर्थले समयमै रकम निकासा नगर्दा सुपथ पसल सञ्चालनमा समेत ढिलाइ हुँदै आएको छ । ‘संस्थानहरूले बर्सेनि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छन् । तर, छुट दिइएको रकम उपलब्ध गराएको छैन,’ खाद्य संस्थानका एक कर्मचारीले भने, ‘रकम उलब्ध नहुँदा सञ्चालन गर्न समस्या हुन्छ ।’ संस्थानहरूले चाडवाडमा खाद्यान्न लगायतका वस्तुमा बजार भाउभन्दा सस्तोमा बिक्री गर्दै आएका छन् ।
Loading...


Post a Comment