भाद्र १, २०७३- अन्तत: रियो ओलम्पिक जारी रहँदा नै हलिउड गायिका केटी पेरी ‘राइज’ गीतको म्युजिक भिडियो सार्वजनिक गर्न सफल भएकी छन्, जुन रियो ओलम्पिकको थिम हो ।
गायिका केटी पेरीको यो म्युजिक भिडियो २०१६ रियो ओलम्पिकका लागि बहुप्रतिक्षित थियो । रिलिज गर्न नपाउँदै यो संसारभर ‘हिट’ हुन पुगेको छ । यो म्युजिक भिडियोले यी हलिउड सुन्दरीलाई फेरि एकपल्ट गतिलैसँग चर्चामा ल्याएको छ ।
म्युजिक भिडियो ‘राइज’ सार्वजनिक गरेसँगै पेरीले निकै दुख्खका साथ यो सफलता प्राप्त गरेको भन्दै ट्वीट गरेकी छन् । उनले लेखेकी छन, ‘हामीले निकै मेहेनेत गर्यौं । रगत, पसिना र आँशु बगाएर लगातार अगाडि बढयौं । र, आखिरमा नयाँ म्युजिक भिडियो राईज ल्याउन सफल भयौं ।’
यस म्युजिक भिडियोलाई पोल गारेले निर्देशन गरेका हुन् भने यसको निर्माताद्वयमा आयरिश र डेनी लेकवुड छन् । कडा संघर्षका क्रममा गर्नुपर्ने दु:ख र त्यसबाट प्राप्त हुने सफलता एंव सन्तुष्टिलाई यो म्युजिक भिडियोमा देखाउन खोजिएको छ, जसमा गायिका आफैंले अभिनय गरेकी छन् ।
भिडियोमा पिंक रंगको प्यारासुट उडाउनका लागि निकै संघर्ष गर्नु परेको देख्न र महसुस गर्न सकिन्छ । पेरीले यो गाना आफूसँग पहिलेदेखि नै रहेको बताएकी थिइन् । ‘सुरुमा म चाहन्थेँ कि, यो गीत मेरो अर्को एल्बमका लागि बचाएर राखूँ,' उनले भनेकी छिन्, ‘तर रियो ओलम्पिकको थिम ‘राईज’ भएकाले अहिल्यै नै मैले सक्नुपर्ने अवस्था आयो । र, यसमा हामी सफल पनि भयौं ।’


Post a Comment