नेपाली तेक्वान्दो खेलाडी निशा रावलले रियो ओलम्पिकको पहिलो खेलमा शनिबार चिनियाँ प्रतिद्वन्द्वी झेङ सुयिनको सामना गर्दैछिन् ।
ओलम्पिक छनोटमा असफल भए पनि ‘वाइल्ड कार्ड’मार्फत् ब्राजिल यात्राको अवसर पाएकी उनले हेभिवेट (६७ केजीमाथि) को स्पर्धामा अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछिन् । यसमा १६ खेलाडी मात्र छन् र त्यसमध्ये वाइल्ड कार्ड पाउने निशा एक्ली हुन् ।
‘ओलम्पिकमा खेल्ने सबै खेलाडी उत्कृष्ट छन् । झेङ विश्व वरीयतामा नम्बर १ खेलाडी हुन् । आत्मविश्वासी भएर खेल्दै उनलाई कडा चुनौती दिने प्रयास गर्नेछु । उत्कृष्ट खेल्ने कोसिस गर्नेछु,’ २० वर्षीया निशाले रियाबाट भनिन् । हङकङमा भएको एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी उनले एसियाली खेलकुद र युनिभर्सियाडको अनुभव पनि बटुलेकी छन् ।
उनले एक महिनायता संगीना वैद्यसँग प्रशिक्षण गरेकी छन् । छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली संगीना विश्व खेलकुदको महाकुम्भमा प्रशिक्षकका रूपमा पहिलोपल्ट सहभागी हुन लागेकी हुन् । ‘तयारी ठीकै भएको छ,’ उनले निशाबारे भनिन्, ‘जस्तोसुकै बलियो प्रतिद्वन्द्वी भए पनि आत्मविश्वावसी भएर उत्कृष्ट प्रदर्शन गर्ने आश गरेकी छु ।’


Post a Comment