आश्विन ७, २०७३- जंगल अतिक्रमण गरी निर्माण गरेको आरोपमा जिल्ला वन कार्यालयले एकाबिहानै स्थानीय धादिङ सामुदायिक रेडियो धादिङमा डोजर प्रयोग गरेर भत्काएको छ ।
सशस्त्र वन रक्षकहरुले रेडियो स्टेशनमै सुतेका रेडियोकर्मीहरुलाई बाहिर घिसारेर रेडियोको उपकरणहरु पनि तोडफेड गरेका छन् । रेडियो धादिङका कार्यक्रम प्रस्तोता शंकर श्रेष्ठ र दोलख गुरुङ्ग लगायत ४ जना रेडियो स्टेशनमै सुत्दै आएका थिए ।
रेडियोकर्मीहरुलाई कपडासमेत लगाउन नदिएर सशस्त्र वन रक्षकहरुले बाहिर निकालेका थिए । जिल्ला वन कार्यालयले ६ जना जिल्लाका सशस्त्र वन रक्षक र अन्य जिल्ला वाट १९ जना वनरक्षक बोलाएर करिव अढाई सय जनपद र सशस्त्र प्रहरीको जत्थाले शुक्रबार विहान ३ वजे रेडियो धादिङ भत्काएर उपकरणहरु तोडफोड गरेको थियो ।
तोडफोडले रेडियो त्रिशुलीको ट्रान्समिटर, मिक्सर, कम्प्युटर, ल्यापटपहरु लगायत अन्य प्रशारण उपकरणहरु क्षति भएको रेडियो व्यवस्थापन सञ्चालकका सदस्य दामोदर अर्यालले वताए ।
Loading...
रेडियो र स्नेह हाउस लगायतको विजुली प्रशारण लाइन काट्न दिएको लिखित आदेश अवज्ञा गरेको भन्दै गत ५ गते जिल्ला सदरमुकामस्थित विद्युत प्राधिकरणका प्रमुख सत्यनारायण गामीलाई सशस्त्र वन रक्षकहरुले दिनभर नियन्त्रणमा लिएका थिए । रेडियोको भवन भत्काउन विहीबार मध्यरातबाट पूरै वजारमा विजुली काटिएको थियो । भवन भत्केपश्चात शुक्रबार विहान विद्युत सुचारु भएको थियो ।
जिल्ला वन कार्यालयले रेडियो नजिकै रहेको सहयात्री समाजद्वारा सञ्चालित असहाय महिलाहरु रहेको ‘स्नेह घर’ समेत भत्काएको छ । घर सात वर्षअघि नै निर्माण भए पछि दुई वर्षअघि देखि सञ्चालन भइरहेको छ ।
जिविस धादिङले १६ लाख, युनाइटेड मिसन टु नेपालले ३ लाख र सञ्चालक संस्थाले करिव १० लाख खर्चेर उक्त भवन निर्माण गरी ६ जना असहाय, अपाङ्ग र टुहुरा बालबालिकाहरुलाई संरक्षण दिंदै आएको थियो । उक्त स्नेह घर सञ्चालन गर्न अन्तर्राष्ट्रिय दातृ निकाय इन्टरनेशनल मेडिकल क्रप्सले आर्थिक सहयोग दिदैं आएको थियो ।
सहयात्री समाजका कार्यकारी निर्देशक राधिका सापकोटाका अनुसार चार महिने शिशुसहितकी महिला सपना मगरलाई पनि निकालिएको छ ।
रेडियो भत्काउने वेला जिल्ला वन कार्यालयले आफू निकट पत्रकार बाहेक अरु लाई खबर पनि गरेको थिएन भने भत्काउने वेला जान खोज्ने नेपाल पत्रकार महासंघका सभापति नवराज छत्कुली, इन्सेक प्रतिनिधि एवं उज्यालो नेटवर्कका सीताराम अधिकारीलाई प्रहरीले जान नदिएर दुर्व्यवहार गरेको थियो ।
जिल्ला बन कार्यालयले सदरमुकाम स्थित अमरावती सामुदायिक वनमा पक्कीघर निर्माण गरि सञ्चालन गरिएको रेडियो धादिङ, १०६ मेगाहर्ज र रेडियो त्रिशुली १०६ थोप्लो ६ मेगाहर्जलाई साउन २३ गते वन क्षेत्र खाली गर्न लिखित पत्र दिएको थियो । साउन ३० गते रेडियो सञ्चालक र स्थानीयवासीहरुले रेडियो भत्काउन गएका सुरक्षाकर्मी र स्काभेटर तोडफोडमा उत्रे पछि उक्त काम स्थगित गरिएको थियो ।
ग्रामिण सहकारी संस्था लिमिटेडले भुकम्प पछिको माघ २ गते वाट रेडियो धादिङ र रेडियो त्रिशुली संचालन गर्दै आएको थियो ।
पहिलोचरणमा राजमार्ग र सदरमुकाम वरपरका अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु खाली गर्ने अभियान अन्तर्गत जिल्ला वन कार्यालयले राजमार्गबाट आरम्भ गरी आइतबार सदरमुकाममा अभियान थालेको थियो ।
‘वैदेशिक सहयोग लिएर सामूदायिक वन जंगल क्षेत्र मिचेर पक्की भवन निर्माण गर्न मिल्दैन, स्नेह घर र धादिङ सञ्चार सहकारीको भवन वैदेशिक सहयोग लिएर वनजंगल मिचेर भवन निर्माण गरिएकोछ,’ जिल्ला वन कार्यालयका प्रमुख इमानाथ पौडेलले वताए ।
उक्त वन जंगल क्षेत्रमा भवन निर्माण गर्न भुकम्प पछि दक्षिण एसियाली रेडियोहरुको छाता संगठन अमार्कले नेपाल–जापान मैत्री सहयोग विएचएन मार्फत ११ लाख र निर्वाचन क्षेत्र नं २ का एमाले सभासद गुरुप्रसाद वुर्लाकोटीले १० लाख रकम दिएका थिए ।
Loading...

Post a Comment