मेसिनले काटेको हात देखाउँदै मनोज सम्झाउँछन् विदेशका जोखिम

भदौ २६ – मलेसिया पुगेको ५ घण्टासम्म पनि कम्पनीबाट लिन कोही नआएपछि मनोज साह टामाटिमी पर्नुभएको थियो । यत्तिकैमा प्रहरी आयो र गाडीमा हाल्यो । मनोजलाई लाग्योे  विदेशमा त कामदारलाई कम्पनीको मान्छे होइन प्रहरी पो लिन आउँदो रहेछ । 
तर प्रहरीले उहाँलाई कम्पनी पुर्‍याएन सिधै प्रहरी चौकी पुर्‍यायो । कोहीपनि लिन नआएको भन्दै चौकी पुर्‍याइएका मनोजलाई दुई दिनपछि कम्पनीको साहुले लिएर गए । मलेसिया पुगेको ४८ घण्टापछि बल्ल कम्पनी पुगेका मनोजलाई विदेश पुगेको खुसी भन्दा चिन्ता बढ्यो । 
सर्लाही नोकैलवा गाविस–८ पिपरियाका ३० वर्षका मनोजकुमार साह २०६५ सालमा काठमाडौं सुन्धाराको एसएसपी म्यानपावरबाट मलेसिया जानुभएको थियो । उहाँले त्यहाँ प्याकिङको काम पाउनुभयो । १५ दिनपछि साहुले बिस्कुट बनाउने मेसिन चलाउन लगायो । नाइनास्ती गर्ने कुरै भएन उहाँले २५ दिनसम्म त्यही काम गर्नुभयो । तर त्यसपछि भने साहुले उहाँको काम फेरिदियो । ‘मलाई मेसिन चलाउन आउँदैनथ्यो तर जबरजस्ती मेसिन चलाउन लगायो’ मनोज भन्नुहुन्छ, ‘त्यसको २५ दिनपछि त कामको समय नै फेरिदियो’ त्यतिञ्जेल दिउँसो काम गरिरहेका मनोजलाई त्यसपछि रातीको काममा लगायो । जुन निक्कै गाह्रो थियो । 
एकदिन काम गर्दै गर्दा मनोजको हातका चारवटा औँला मेसिनले च्याप्यो । ‘ मेसिन चलाउँदै गर्दा झकाएछु मेसिनले औँला च्यापेपछि मात्र झसङ्ग भएँ’ मनोजले भन्नुभयो । अस्पतालमा डाक्टरले औँला काटिदिए । घरबाट सरसाउँदो गएका मनोज अपाङ्ग हुनुभयो । बिस्तारै औँलाको घाउ त सुक्दै गयो तर त्यसले दिएको घाउ सधैँ आलो नै रह्यो । औँला काटिँदाको पीडा त छँदै थियो कम्पनीले खानपनि नदिएपछि समस्या थपियो । 
तीन महिनामा घाउ केही निको भएपछि उहाँले त्यही कम्पनीमा काम गर्न थाल्नुभयो । औँला गुमाएर कम्पनी फर्किएका मनोजले त्यसपछि एउटै हातले मेसिन चलाउन थाल्नुभयो । एउटै हातले काम गरेर पनि उहाँले करार अवधी अर्थात तीन वर्षसम्म काम गरेर नेपाल फर्किनुभयो । 

आफ्ना औँला गुमेपछि अरुलाई सचेत बनाउँदै 

घर फर्किएको दुई महिनासम्म काम बिनै बसेका मनोजलाई सुरक्षित आप्रवासन परियोजना सामी, हेल्भेटास र राष्ट्रिय रोजगार प्रवद्धन केन्द्र मलंगवाले भोलेन्टियर नियुक्त गर्‍यो । कामको अवसर पाएपछि भने उहाँको अवस्थामा मात्रै होइन परिचय पनि फेरिदै गएको छ ।
विदेशको कामले उहाँलाई दिएको पीडा कम छैन तर त्यही दुःखको अनुभव अरुलाई सचेत बनाउन सहयोगी बनिरहेको छ । आफ्ना काटिएका औँला देखाउँदै मनोज वैदेशिक रोजगारीमा जान चाहनेलाई त्यहाँ हुनसक्ने दुर्घटना र आइपर्ने आपतका बारेमा जानकारी गराउनहुन्छ ।
काम नगरेको र समस्यामा नपरेको व्यक्तिले दिने सल्लाह र भुक्तभोगीले दिने सल्लाहमा निक्कै फरक हुने मनोजको अनुभव छ । ‘सुरुमा मेरो कुरा सुन्नेहरुले पत्याए जस्तो गर्दैनन् तर जब म मेरो अवस्था देखाउँछु र बुझाउन थाल्छु अनि चाहिँ साँच्चिकै हो रहेछ भन्ने बुझ्छन’ मनोज भन्नुहुन्छ ।
मनोजले अहिलेसम्म ७ जनालाई सीप सिकाउन, एकसय ५० जनालाई सूचना तथा जानकारीका लागि र समस्यामा परेका ३५ जनालाई समाधानका लागि सूचना केन्द्रमा पठाउनुभएको छ ।
मनोजलाई आफुले भोगेको दुःखद अनुभवले महत्वपुर्ण पाठ सिकायो । विदेश पुगेर समस्यामा परेर वा अङ्गभङ्ग भएर फर्किने धेरै छन् तर त्यसपछि पनि आफूलाई सम्हालेर अरुलाई सल्लाह दिनु र सचेत गराउनु उदाहरणीय भएको सर्लाहीको मलंगवामा रहेको सुरक्षित आप्रवास सूचना तथा परामर्श केन्द्रकी कार्यक्रम संयोजक सुष्मा साह बताउनुहुन्छ । 

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2