Loading...
असोज २०, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतमा हाजिर हुन म्याद तामेली गर्ने प्रयास दोस्रो दिन बिहीबार पनि सफल भएन ।सूचना बोकेका सर्वोच्च अदालतका कर्मचारी आफैँ सम्पर्कविहीन भए । पत्र बोकेका सर्वोच्चका तामेलदार शम्भु खत्री सम्पर्कमा नआएपछि म्याद तामेली गर्ने प्रयास असफल भएको छ ।
उनी बुधबार म्याद तामेलीका लागि बानेश्वरको रोहिणीमार्गस्थित कार्की निवासमा पुगेका थिए । सुरूमा वडा नम्बर १० का सचिवले सहयोग गरेनन् । पछि सर्वोच्चको टोली उक्त घर भाडामा लगाइएको पाएपछि घरधनी नबसेको घरमा सूचना टाँस्न नमिल्ने भन्दै फर्किएको थियो ।
त्यसपछि अख्तियारमा नै सूचना टाँस्ने तयारी थियो । तामेलदार विहान सवा १० बजे सम्पर्कमा आएका थिए । त्यसको एक डेढ घन्टा सम्पर्कमा रहेका उनी आउँछु आउँछु भन्दै आएनन् र, फोन स्वीच अफ गरे । र, बिहीबार साँझ ५ बजेसम्म पनि उनी सम्पर्कमा आएनन् ।
सर्वोच्चले अख्तियार प्रमुख कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने आदेश गरेअनुसार उनलाई हाजिर गराउन यो सूचना टाँस्न लागिएको हो ।
यो निर्णयको औपचारिक सूचना छल्न लोकमान विदेश भ्रमणमा छन् । उनले सूचना छल्न खोजेपछि सर्वोच्चले घरमै सूचना टाँस्न तामेलदार खत्रीसहितको टोली खटाएको थियो ।
म्यादको पत्रमा निर्णयको जानकारी दिँदै मुद्दाका दुवै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको हुन्छ । यस्तो सूचना गाविस वा वडाको प्रतिनिधिलाई साक्षी राखेर घरमा टाँस्नुपर्ने नियम छ ।
तर, तामेलदार नै सम्पर्कविहीन भएपछि अन्यौल देखिएको छ । यदि घर नभेटिएको भए सञ्चारमाध्यममा सूचना जारी गर्न सकिन्थ्यो ।
तर, अहिले तामलेदार नै सम्पर्कविहीन भएकाले विभागीय कारबाही गरेर अर्को तामेलदार खटाउने वा अहिलेकै तामेलदारले सूचना टाँस्ने विकल्प रहेको लोकमानको नियुक्तिविरुद्ध रिट हाल्ने अधिवक्ता ओमप्रकाश अयार्ललले बताए ।
Loading...
Loading...


Post a Comment