९ पुस, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घटेपछि विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर पनि प्रभावित भएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १२.७ प्रतिशतले कमी आएको छ ।
विदेशबाट नेपालीले आर्जन गरेर पठाउने रकमको वृद्धि अनुपात लगातार ओरालो लाग्दा त्यसले अर्थतन्त्रमा पार्नसक्ने असरबारे सरकारी स्तरमा कुनै बहस भने भएका छैनन् ।
समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ७.८ प्रतिशतले बढेको छ । कात्तिकसम्म वैधानिक च्यानलबाट २ खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
तर, यो वृद्धिदर अघिल्लो वर्षको सोही अवधिमा तुलनामा झण्डै १३ प्रतिशत कम हो । अघिल्लो वर्षको कात्तिकसम्म रमिट्यान्स वृद्धिदर १९.४ प्रतिशतमा थियो ।
नेपाल राष्ट्र बैंककाअनुसार यो वर्ष पहिलो चार महिनामा खुद ट्रान्सफर आय ६.७ प्रतिशतले वृद्धि भएर २ खर्ब ६५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २३.२ प्रतिशतले बढेको थियो ।
किन घट्यो ?
रेमिटरयान्स आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएका कारण पनि वृद्धिदर प्रभावित भएको हो ।
यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गतवर्षको सोही अवधिको तुलनामा ७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०.९ प्रतिशतले घटेको थियो ।
यो वर्षको पहिलो चार महिनाको अवधिमा १ लाख २५ हजार ७ सय ८१ जना नेपाली कामका लागि विदेशिएका छन् । गतवर्ष यही अवधिमा १ लाख ३६ हजार युवा विदेशिएका थिए ।
मलेसिया र साउदीको रोजगारीमा देखिएको संकट नै विदेश जानेको संख्या घट्नुको मूल कारण मानिएको छ । साउदीमा चुलिएको आर्थिक संकटले पनि यसमा ठूलो प्रभाव पारेको छ ।
विदेश जानेको संख्या लगातार घटिरहनुले रेमिट्यान्सको वृद्धिदरलाई ऋणात्मक बनाएको छ । अहिलेसम्म ब्यापार घाटाको बिकराल अवस्थालाई थेग्नेसक्ने गरी रेमिट्यान्स परिचालित भइरहेको छ ।
तर, आयातको दर बढेको बढ्यै गर्नु र रेमिट्यान्सको वृद्धिदर घट्नुले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्नसक्ने जानकारहरु बताउँछन् ।
विदेशमा कार्यरत ठूलो नेपाली जनशक्तिले पठाइरहेको रेमिट्यान्स उपभोगमै खर्च हुने प्रवृत्तिले पनि समस्या परेको छ ।
रेमिट्यान्स रकम बढेपनि वृद्धिदर घट्नुलाई अर्थशास्त्रीहरुले नकारात्मक सूचकका रुपमा विश्लेषण गर्ने गरेका छन् ।
Loading...


Post a Comment